शिक्षा

शिक्षा

विश्वविद्यालय उच्च शिक्षा र अनुसन्धानको संस्था हो, जसले अध्ययन तथा अनुसन्धानका विभिन्न क्षेत्रमा कार्य गर्छ । नेपालमा १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भएसँगै उच्च शिक्षाको प्रारम्भ भएको इतिहास छ । उच्च शिक्षाको प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न चारवटा मुख्य उद्देश्य राखेर २०१६ सालमा देशकै ठुलो तथा पुरानो विश्वविद्यालय अर्थात् त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को स्थापना भएको थियो । 

करिब १५५ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिविविअन्र्तगत अहिले पाँचवटा संस्थान र चारवटा संकाय सम्मिलित ४० केन्द्रीय विभागहरू, ६२ वटा आङ्गिक क्याम्पसहरू र एक हजार ६२ वटा सम्बन्धन प्राप्त विभिन्न विषयका क्याम्पस सञ्चालित छन् ।

त्रिविवि नेपाल सरकारद्वारा लगानी गरी सञ्चालनमा ल्याएको एक गैरनाफामुखी संस्था हो, जसलाई २०१३ सालमै तत्कालीन सरकारले केन्द्रीय विश्वविद्यालय घोषणा गर्न सैद्धान्तिक सहमति जनाएको थियो । चारवटा अनुसन्धान केन्द्र रहेका तथा कार्यक्रमको विविधताका हिसाबले ठुलो संख्यामा विद्यार्थीका आवश्यकता पूरा गर्न सफल भएको दाबी गर्ने त्रिविविले १९ डिसेम्बर २०२३ का दिन ४९औँ दीक्षान्त समारोहको आयोजना गरी करिब ७४ हजार ७४९ विद्यार्थीलाई दीक्षित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउन सफल भयो । बर्सेनि करिब साढे तीन लाख विद्यार्थीले अध्ययन गर्ने यस विश्वविद्यालयले करिब १५ हजार १९६ शिक्षक तथा कर्मचारीलाई रोजगारी दिइरहेको छ । 

त्रिविविले आव २०८०/०८१ का लागि २६ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट उसले आफ्ना नियमित कार्यक्रम सञ्चालानार्थ ५३ प्रतिशत, आन्तरिकतर्फ ४२ प्रतिशत र विकास कार्यक्रममा करिब पाँच प्रतिशत गरेर जम्मा तीनवटा मुख्य विधामा बजेट खर्च गर्दोरहेछ । कुल बजेटको ५० प्रतिशत आन्तरिक आम्दानीबाट उठ्ने रहेछ भने बाँकी ५० प्रतिशत रकम चाहिँ विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारलाई माग गरेपछि प्राप्त हुने रहेछ । 

सरकारबाट प्राप्त हुने अनुदान रकम कुनै कारणवश त्रिविविले माग गरेभन्दा कम प्राप्त भएमा वा त्रिविविको योजना मुताविकको रकम नेपाल सरकारले उपलब्ध गराउन नसकेमा विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकमलाई नियमित तथा आन्तरिक कार्यक्रम सञ्चालनका निम्ति उपयोग गर्नुपर्छ । यसो हुँदा विकास कार्यक्रम अन्तर्गतका अनुसन्धान, तालिम तथा वृत्ति विकासका निम्ति गरिने महत्त्वपूर्ण तथा अत्यावश्यक कार्यक्रम कटौती गर्नुपर्ने वा रोक्का नै गर्नुपर्ने अवस्था आउने रहेछ । 

त्रिविविले हाल पठनपाठन गराइरहेका विषयवस्तुले नेपाली समाजको भित्री सांस्कृतिक पक्षलाई समात्न सकेका छैनन्

त्रिविविको पहिलो मुख्य उद्देश्य ‘नेपालको समग्र विकासका निम्ति आवश्यक सक्षम जनशक्ति तयार पार्ने’ भन्ने कुरा सैद्धान्तिक रूपमा सकारात्मक देखिए पनि व्यावहारिक रूपमा भने पूरै फरक छ । त्रिविविले पढाउने पाठ्यक्रम नै नेपालको विशिष्टता अनुरूपका छैनन् । सबैजसो क्षेत्रमा विकासका कार्य न्यून मात्रामा भएका र हुनुपर्ने विकाससँग मेल खाने विषय पढाउन अत्यावश्यक रहे पनि त्रिविविले त्यो धारबाट बाहिर रहेर पाठ्यक्रमको विकास गर्ने र लागु गर्ने गरेको छ । जसले गर्दा देशभरका ७९ प्रतिशत विद्यार्थीको संख्यालाई प्रतिनिधित्व गर्ने त्रिविविले कुल विद्यार्थी संख्याको ८० प्रतिशत अनुत्पादक जनशक्तिहरू उत्पादन गरिरहेको छ । 

गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नु त्रिविविको अर्को मुख्य उद्देश्य हो । देशको राष्ट्रिय आवश्यकता, विश्वविद्यालयको पाठ्यक्रम तथा त्यसबाट उत्पादित जनशक्तिको गुणस्तरलाई मध्यनजर गरेर शिक्षाको गुणस्तर मापन गर्नुपर्र्छ ।

नेपालको राष्ट्रिय आवश्यकता शारीरिक श्रम गरी जीविकोपार्जन गर्ने मानिसको जीवनस्तरलाई उकास्नु हो । त्यसका निम्ति नेपालमा आफ्नै मौलिकतामा आधारित रहेर पाठ्यक्रमको विकास गर्नुपर्छ । जसले राष्ट्रको विकासमा प्रत्यक्ष रूपमा सहयोग गर्न सकोस् । 

विभिन्न एनजीओ, आईएनजीओ तथा दातृ निकायको प्रत्यक्ष निगरानीका आधारमा व्यापक औद्योगिकीकरण भइसकेका तथा विकासका दृष्टिले सम्पन्न भइसकेर जीवनलाई सक्रिय राखिरहनका लागि पढ्ने खालका विषयवस्तु समावेश गरेर तयार पारिएका त्रिविविको पाठ्यक्रम र यसको भद्रगोल शैक्षिक प्रणालीले मास्टर्स डिग्री सकाए पनि मजदुरी गर्नका लागि बिदेसिनुपर्ने बाध्यतामा परेका युवालाई देशभित्रै रोक्न सकेको छैन । त्यसका साथै युवा पुस्तामा त्रिविविप्रतिको भरोसा कमजोर भई वार्षिक एक डेढ लाख विद्यार्थी उच्च शिक्षा आर्जनका निम्ति बिदेसिने गरेका छन् । 

‘राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्ने’ भन्ने कुरा त्रिविविको तेस्रो मुख्य उद्देश्य हो । नेपालमा सामन्तवादको धरोहरको अवसान भए पनि त्यसका पक्षपोषककोे अन्त्य हुन सकेको छैन । प्रत्यक्ष रूपमा सामन्तवादी संस्कार र संस्कृतिको पक्षपोषण गर्ने खालका पाठ्यसामग्री पाठ्यक्रमबाट हटाइए पनि पाठ्यक्रममा आमूल परिवर्तन गर्न सकिएको छैन । 

त्रिविविले हाल पठनपाठन गराइरहेका विषयवस्तुले नेपाली समाजको भित्री सांस्कृतिक पक्षलाई समात्न सकेका छैनन् । विभिन्न समुदायका सांस्कृतिक पक्षलाई सामान्य ढङ्गले समावेश गरिएको भए पनि त्रिविविको पाठ्यक्रम, वैदेशिक सांस्कृतिक हस्तक्षेपबाट देशलाई मुक्त गराउन सक्ने खालकोे छैन ।

त्रिविविको पाठ्यक्रम, राष्ट्रिय उत्पादन, श्रम तथा उद्यमशीलताको संस्कारलाई समाजमा स्थापित गराउने खालको हुनुपर्र्छ तर युवा पलायनलाई प्रतिस्थापन गर्नका लागि राष्ट्रिय उत्पादन, श्रम तथा उद्यमशीलताको संस्कृतिको विकास गर्ने खालको शिक्षा त्रिविविले प्रदान गर्न सकेको छैन ।  

त्रिविविमा सैद्धान्तिक बाहेकका पनि थुप्रै जटिल समस्याको चाङ रहेको कुरा वर्षैपिच्छे फेरिने शिक्षामन्त्रीहरू, प्रत्येक चार–चार वर्षमा फेरिने उपकुलपतिहरूका त्रिविवि सुधार्ने प्रतिबद्धता र त्रिविविमा अध्यापन गराइरहेका प्राध्यापकहरूले आफ्नो जीवन रक्षाका निम्ति अदालतको ढोकामै अनशन बस्नुपर्ने स्थिति लगायत गतिविधिले प्रस्ट्याउँछन् । 

त्रिविविलाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा व्याख्या गरिन्छ । हालसम्मको अवस्थालाई हेर्दा त्रिविविमा अनुसन्धान, तालिम तथा वृत्ति विकासका निम्ति सरदरमा त्रिविविको कुल बजेटको १.५ प्रतिशत मात्रै बजेट उपलब्ध हुन्छ । त्रिविविमा विभिन्न विषयसँग सम्बन्धित अनुसन्धानका लागि भनेर विभिन्न दातृ निकायबाट बर्सेनि लाखौँ रुपैयाँ आउने गरेको पनि छ, तर त्यो रकमको चरम दुरुपयोग हुन्छ, झिनामसिना योजना तयार पारी बजेट सकाइन्छ । वैदेशिक भगिनी विश्वविद्यालयबाट थेसिसका लागि भनेर आएका विभिन्न कोषको रकमको पनि सही सदुपयोग हुने गरेको छैन । अर्कोतर्फ विभिन्न सीमितताका बाबजुद पनि त्रिविविले गर्ने वा गराउने अनुसन्धानका कार्य राज्यको नीति तथा जनताका आवश्यकतासँग मेल खाने खालका छैनन् । 

मास्टर्सको थेसिस फोटोकपी पसलमा किनबेच हुने, प्रतिविद्यार्थीलाई १२ सयका दरले मात्रै अनुसन्धानका निम्ति पैसा उपलब्ध हुने, विदेशी विश्वविद्यालय वा संस्थाहरूले प्रकाशित गरेका पेपरलाई सन्दर्भ सामग्रीको रूपमा लिई गरेको कामलाई मात्रै अनुसन्धान मान्ने र यसरी गरेको अनुसन्धान नेपालको विकासमा उपयोगी नहुने कुरा निश्चितै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button