खेलकुद

नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज, मिस्टर सुप्रानेशनल नेपाल २०२४ को उपाधि जित्न सफल

Feel Free to Contact for Advertisement

हालै काठमाडौंमा सम्पन्न ‘मिस्टर एन्ड मिस नेसनल नेपाल– २०२४’ अन्तर्गतको ‘मिस्टर सुप्रानेशनल नेपाल–२०२४’ को उपाधि धिरोज काजी बस्नेतले जित्न सफल भएका छन् । निकै प्रतिस्पर्धात्मक रहेको यो प्रतियोगितामा ‘मिस्टर सुप्रानेशनल नेपाल–२०२४’ को उपाधि जित्न सफल धिरोज काजी बस्नेत नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी पनि हुन ।


नेपाली राष्ट्रिय भलिबल खेलाडीको रुपमा सक्रिय रहेका बस्नेत मोडलिङमा समेत रुचि राख्छन् । त्यहि क्रममा उनले अभिनेता तथा मोडल दिक्पाल कार्कीद्वारा कोरियोग्राफी गरिएको प्रतियोगिता ‘मिस्टर सुप्रानेशनल नेपाल–२०२४’ मा प्रतिस्पर्धा गरेका थिए । यो प्रतिष्ठित उपाधि जितेसंगै भलिबल खेलाडी बस्नेतले अब पोल्याण्डमा आयोजना हुने मिस्टर सुप्रानेशनल–२०२४ मा नेपालको प्रतिनिधित्व गर्ने मौका समेत पाएका छन् । पोल्याण्डमा आयोजना अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनी यही जुन २२ का दिन त्यसतर्फ प्रस्थान गर्नेछन् ।
अघिल्लो साता प्रज्ञा भवन, कमलादीमा आयोजना भएको उक्त प्रतियोगिताका लागि धिरोजले अन्य प्रतिस्पधिहरुसंगै करिव एक महिना प्रशिक्षण लिएका थिए । खेलाडीको रुपमा स्थापित बस्नेतले यसअघि अघिल्लो वर्ष आयोजना भएको मिस्टर नेपाल नेसन्स–२०२३ को पनि उपाधि जितेका थिए ।

नेपाली राष्ट्रिय भलिबल खेलाडीको रुपमा भने उनले सन् २०२३ चीनमा सम्पन्न एशियन्स गेम्समा बहराइनविरुद्ध डेब्यू गरेका थिए । त्यसपछि आयोजना भएको काभा भलिबल प्रतियोगितामा पनि बस्नेतले नेपालबाट खेलिसकेका छन् । यसका साथै बस्नेतले सन् २०२२ मा नेपाली राष्ट्रिय यू–२३ टोलीमा कप्तानीसमेत गरिसकेका छन् । बांगलादेशमा भएको उक्त काभामा धिरोजले नेपालीको टोलीको नेतृत्व गरेका थिए ।

झण्डै १४ वर्ष अघिदेखि स्थानियस्तरमै भलिबल खेलमा आवद्ध भएका बस्नेतले खेलकुद तथा मोडलिङलाई संग–संगै अघि बढाउने लक्ष्य दिएका छन् ।

नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले मिस्टर सुप्रानेशनल नेपाल २०२४ को उपाधि जितेका छन्। अब उनी आगामी जुनमा पोल्यान्डमा हुने मिस्टर सुप्रानेशनल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनी जुन २२ मा त्यसतर्फ प्रथान गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button