शिक्षा

नेपालमा पढाई हुने विषयहरू नै पढ्न जाने विद्यार्थीहरूको संख्या बढ्दो

काठमाडौं । वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। २०८० सालमा मात्रै एक लाख १४ हजार ४२२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार २०८० वैशाखदेखि चैतसम्म उक्त संख्यामा एनओसी जारी भएका थिए।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरू मध्ये धेरैजसो जापानी भाषा पढ्न जापान जाने गरेका छन्। त्यसैगरी, बिजनेस स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, र साइन्स एण्ड टेक्नोलोजी जस्ता विषय पढ्न बढी विद्यार्थीहरू विदेश जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यी नै विषयहरू नेपालमै पनि पढ्न पाइन्छ तर विद्यार्थीहरूको चाप नेपालमा पनि बढी छ।

शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार, २०८० सालमा जापानी भाषा अध्ययनका लागि ३३ हजार १६१ विद्यार्थीले एनओसी लिएका छन्। जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई पहिला जापानी भाषा पढ्नुपर्ने प्रावधान छ र निश्चित समय जापानी भाषा पढेपछि मात्रै थप अध्ययनका लागि अनुमति पाइन्छ।

दोस्रो नम्बरमा, म्यानेजमेन्ट पढ्नका लागि जाने विद्यार्थीहरूको सङ्ख्या धेरै देखिएको छ। २०८० सालमा म्यानेजमेन्ट पढ्नका लागि २८ हजार ६९१ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, बिजनेस स्टडीका लागि ११,३१५, इन्फर्मेशन टेक्नोलोजीका लागि ६,८०३, साइन्सका लागि ४,८७१, हेल्थका लागि ४,७५४, कम्प्युटर साइन्सका लागि ४,२८३, इन्जिनियरिङका लागि ४,२७२, साइन्स एण्ड टेक्नोलोजीका लागि ४,१५८, र हस्पिटालिटीका लागि ३,०१६ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

photo
features news

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button