राजनीति

मधेसमा जनमत पार्टी नेतृत्वकै सरकार निरन्तरता !

केन्द्रमा फेरिएको सत्ता समीकरणले मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिस सिंहले विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस–एमाले गठबन्धनमा नयाँ समीकरण बनेसँगै मधेस प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चासो बढिरहेको समयमा नेकपा एमालेले जनमत पार्टी नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिइने बताएको हो ।
मुख्यमन्त्री सिंहले शनिबार लिन लागिएको विश्वासको मत सम्बन्धी प्रस्तावमा सत्तारुढ दलसहित ८ वटा दलले आफ्नो नेतृत्वको सरकारलाई समर्थन जनाउने दाबी गरे ।
सरकारमा सहभागी ६ दल र कांग्रेस र लोसपाले समेत आफ्नो पक्षमा विश्वासको मत दिने मुख्यमन्त्री सिंह बताउँछन् ।
एमाले संसदीय दलका नेता सरोज यादवले आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

माओवादीबाट खेलकुद मन्त्री बनेका युवराज भट्टराई (समीर) ले पनि वर्तमान सरकारलाई नै आफ्नो पार्टीले विश्वासको मत दिने तयारी गरेको बताए । ‘तत्काल हाम्रो पार्टीले यही सरकारलाई विश्वासको मत दिने तयारी छ, त्यसकारण भोलि हामी सरकारको पक्षमा मतदान गर्नेछौँ,’ उनले भने ।

यसैगरी मुख्यमन्त्री सिंहको पक्षमा कांग्रेसले पनि मतदान गर्ने तयारी गरेको जनाइएको छ । कांग्रेसका एक प्रदेश सांसदले भने, ‘हाम्रो पार्टी यसअघि मुख्यमन्त्री सिंहको विपक्षमा खडा भएको थियो, तर वर्तमान समीकरणले यही सरकारलाई सघाउने भनेपछि भोलि हामी विश्वासको मतको पक्षमा मतदान गर्ने भएका छौँ ।’

एकीकृत समाजवादीले पनि वर्तमान सरकारलाई सघाउने भएको छ । सत्ता समीकरण फेरिए पनि यही सरकारमा अहिलेसम्म रहेको हुनाले आफ्नो पार्टीले शनिबार लिन लागिएको विश्वासको मतको पक्षमा मतदान गर्ने तयारी गरेको एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता गोविन्द न्यौपानेले बताए ।

लोसपाले पनि अहिलेको सरकारलाई नै समर्थन गर्ने भएको छ । लोसपा एक सांसदका अनुसार केन्द्रमा नयाँ समीकरण बनेपछि त्यसको निर्णय अनुसार नै मुख्यमन्त्री सिंहको सरकारलाई समर्थन गर्न लागिएको हो । त्यसैगरी नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत वर्तमान सरकारको पक्षमा मतदान गर्ने तयारी गरेको छ ।
प्रदेश सभामा रहेको अधिकांश दलले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि जनता समाजवादी पार्टी नेपालले भने त्यसको विपक्षमा रहने निर्णय गरेको छ ।

जसपा नेपालका वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफ्नो पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

प्रदेश सभामा एमालेको २४, जनमतको १३, कांग्रेसको २२, लोसपाको ८, एकीकृत समाजवादीको ७, माओवादीको ९, नागरिक उन्मुक्तिको १ र नेपाल संघीय समाजवादीको १ जना सांसद छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button