ब्रेकिङ न्यूज

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १८ जनाको मृत्यु

काठमाडौँ, सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले यो दुःखद घटनाको पुष्टि गरेका छन्। दुर्घटनामा घाइते भएका चालक मनिष शाक्यलाई उद्धार गरी काठमाडौँ मेडिकल कलेज पठाइएको छ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो। जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जनाउँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताएका छन्।

जहाज मर्मतका लागि काठमाडौँबाट पोखराका लागि उडेको थियो। एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरेका छन्। विमानस्थलबाट उड्नेबित्तिकै जहाज असन्तुलित भई तल भुइँमा खसेको बताइएको छ। दुर्घटनापछि विमानमा आगलागी पनि भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button