सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने तय
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए ।
सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।