वैज्ञानिकहरुलाई ओलीको आग्रह : विकासका लागि आविष्कार र अनुसन्धान गरौं
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि वैज्ञानिकहरूलाई नयाँ आविष्कार र अनुसन्धानमा लाग्न आग्रह गरेका छन्। उनले विशेष रूपमा रासायनिक मल र कीटनाशकको कारणले माटो बिरामी भएको र यसको उपचारका लागि अनुसन्धान आवश्यक रहेको बताए। साथै, विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने अनुसन्धानले उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री निवास, बालुुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले कृषि अनुसन्धानमा राष्ट्रिय कृषि अनुसन्धान परिषद्सँग सहकार्य गर्न र सुशासनको नेतृत्व आफैंले गर्ने उल्लेख गरे। नेपालले ग्रिन हाइड्रोजनको प्रयोग, अन्तरिक्षमा सेटेलाइट राख्न र भूकम्पको पूर्व सूचना प्रणाली विकास गर्न ध्यान दिनुपर्ने कुरा उनले जोड दिए।
सभाले रु ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ।