सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटेल ‘लेमट्री–प्रिमियर’ को उद्घाटन गरेका छन्। यो होटेल दुई अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको हो।
प्रधानमन्त्री ओलीले होटेलले देशको विकास यात्रामा योगदान दिने विश्वास व्यक्त गरे। उनले पर्यटकहरूलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दर स्थल र अनुकूल वातावरण रहेको उल्लेख गर्दै, सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। साथै, प्रधानमन्त्री ओलीले सरकार सुशासन र छिटोछरितो सेवा प्रदान गर्न लागिपरेको बताए।
प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई निर्वाध रूपमा आफ्नो व्यवसायिक गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्दै भने, “व्यवसायका लागि कुनै प्रकारको घुस बुझाउन आवश्यक छैन। सरकारी निकायमा कामको फाइल रोकिँदैन। कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले आवश्यक प्रविधि तयार गरिसकेका छौं। तपाईंहरू ढुक्कसँग पर्यटकलाई सेवा र सत्कार दिन लाग्नुहोस्, सरकारले आवश्यक सहजीकरणमा कुनै कमी गर्ने छैन।”
(स्रोत: रासस)