बाढीपहिरोले पूर्वाधारमा ११ अर्बको क्षति
काठमाडौँ — गत शुक्रबार र शनिबारको अविरल वर्षाले नेपालका २१ जिल्लामा ठूलो क्षति पुर्याएको छ। खानेपानी, सडक, ऊर्जा र सिँचाइका पूर्वाधारमा ११ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार खानेपानीमा ३ अर्ब ५२ करोड, सडकमा २ अर्ब ५२ करोड, ऊर्जा पूर्वाधारमा ४ अर्ब र सिँचाइमा १ अर्बको क्षति पुगेको छ।
बाढीपहिरोले ६ सय ६७ मेगावाटको क्षमताका १६ जलविद्युत् आयोजना र १ हजार १ सय ३९ मेगावाटका १८ निर्माणाधीन आयोजना प्रभावित भएका छन्। हालसम्म बाढीपहिरोमा २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता र १ सय ५८ जना घाइते भएका छन्।
सरकारले प्रभावित परिवारका लागि अनुदान र राहत वितरणका कार्यक्रम सुरू गरेको छ। बाढीपहिरोबाट प्रभावित सडक र खानेपानी सेवाहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।