रासायनिक मलबिना नै बारीमा लहलह तरकारी

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपक पौडेलको बारी र बगैंचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ।

आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्छिन्। दस रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आएकी उनले सागसब्जी बिक्रीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताइन्। स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुन्।लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उनीजस्तै सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्दिनन्। यसैगरी लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आएकी छन् रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि उपभोक्ताका लागि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको कृषक गीता बताँछिन्। दीपा र गीतामात्र होइन लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ प्रयोग गरी सागसब्जी उत्पादन आएका छन्। रासायनिक मल प्रयोगकर्ता उनीहरूलाई पाँच वर्षअघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास)ले त्यसको प्रयोग बिना पनि खेती गर्न सकिने यथेष्ट जानकारीसँगै तालिम दिएपछि उनीहरू गाईभैंसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादनतर्फ आकर्षित भएकी हुन्।ड्यासले सञ्चालन गरेको तालिममा सहभागी भएपछि रासायनिक मलको प्रयोगबाट उत्पादित सागसब्जीले मानव स्वास्थ्यमा पार्ने असरबारे थाहा पाएको लालीगुराँस नगरपालिका–३ चित्रेकी किसान सुशीला राईले बताइन्। तालिममार्फत रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको उनले बताइन्। पहिले सागसब्जीमा विषादी छर्किंदा दुई–तीन दिन बिरामी नै परिन्थ्यो, हातखुट्टा झम्झमाउने, दुख्ने हुन्थ्यो,’ लालीगुराँस नगरपालिका–१ की गीता पौडेलले भनिन्, ‘त्यो विषादीले असर गरेको रहेछ।’ड्यासको तालिम पाएपछि पाँच वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग बन्द गरेको उनले बताइन्। पाँच वर्षदेखि कम्पोष्ट मलमात्र प्रयोग गर्न थालेपछि बल्ल माटोमा सुधार आउन थालेको उनले बताइन्।
‘तालिममा कम्पोष्ट मल बनाउने तरिका सिक्यौं र अहिले छ–छ महिनामा समूहमा मिलेर वाष्पीकरण विधिबाट मल बनाउँछौं। समूहका सबै सदस्यले एक–एकथरि मल बनाउने झारपात ल्याएर सामूहिक रूपमा मल बनाएर आपसमा बाड्छौं,’ कृषक गीताले जानकारी दिइन्, ‘यसबाट हाम्रो धेरै बचत भएको छ र सीप पनि सिक्न पाएका छौं।’जैविकखेती गर्न चाहने विपन्न लक्षित महिलाहरूलाई अनुदान, जैविक सागसब्जी बिक्री केन्द्र, जैविक सागसब्जी सङ्कलन केन्द्र स्थापना, लालीगुराँस जैविक सहकारी संस्था स्थापना गरी त्यसमार्फत जैविक सागसब्जी मेलाजस्ता कार्यक्रम सञ्चालन गरिएको ड्यासले जनाएको छ। अधिक मात्रामा चिनीमल प्रयोग हुने सो क्षेत्र हाल जैविक सागसब्जीको केन्द्रका रूपमा विकास भएको छ।