प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाने, अग्निपथको बारेमा होला कुरा ?
काठमाडौँ । नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा त्यति सुमधुर हुन नसकेको अवस्थामा दुवै देशका सेनाबिच भने उच्चस्तरीय भ्रमण आदानप्रदान बढ्न थालेको छ ।सैनिक स्रोतका अनुसार भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिरको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न उनी भारत जान लागेको नेपाली सैनिक स्रोतले जनाएको
नेपालले भारतको र भारतले नेपालको प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा छ । सोही अनुसार केही अघि नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
द्विवेदीले नै प्रधान सेनापति सिग्देललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । प्रधान सेनापति नियुक्त भएपछि सिग्देलको यो पहिलो विदेश भ्रमण हुनेछ ।
नेपाल र भारतबिचको सम्बन्धमा दरार उत्पन्न भएको समयमा दुवै देशका सेना प्रमुख सक्रिय भएर त्यसलाई समाधान गर्ने गरेको इतिहास छ । यसपटक पनि सेनास्तरबाटै समाधान निकालिने जानकारहरू बताउँछन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको पाँच महिना पूरा हुन लागेको छ । यस बिचमा भारतसँगको सम्बन्ध सुधार हुनको साटो अझ दरार बढेको कूटनीतिक विज्ञ बताउँछन् । प्रधानमन्त्री ओलीलाई भारतले अहिलेसम्म पनि भ्रमणको औपचारिक निमन्त्रणा नदिएको भन्दै कतिपयले दुई देशबिच सम्बन्ध बिग्रिएको ज्वलन्त उदाहरणका रूपमा यसलाई प्रस्तुत गर्दै आएका छन् ।बिचमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका छन् । मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई भारतले सुक्ष्म रूपले नियालिरहेको छ । भारतबाट फर्के लगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने चर्चा चलिरहेको छ ।
त्यसको वातावरण बनाउने काम प्रधान सेनापति सिग्देलले भारत भ्रमणका क्रममा गर्ने स्रोतले दाबी गरेको छ । प्रधान सेनापति सिग्देलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने तयारी गरिरहेका छन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते नेपाल आएर ९ गते स्वदेश फर्केका थिए । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
भ्रमणको क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न शीर्ष व्यक्तित्वहरूसँग भेटघाट गर्नुको साथै पोखरा, मुक्तिनाथ पनि पुगेका थिए ।भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय प्रधान सेनापति सिग्देलको भारत भ्रमणको तयारीमा जुटेको छ । तयारी पूरा भएपछि मिति घोषणा गर्ने बताइएको छ ।
के हुन्छ अग्निपथ ?
प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनामा गोर्खा सैनिक भर्तीको विषयमा पनि कुराकानी गर्ने बताइएको छ । भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आएको बेला गोर्खा सैनिक भर्तीको विषयमा कुरा उठे पनि त्यसमा कुनै निष्कर्ष निस्कन सकेन ।
भारतले अग्निपथ योजना ल्याएपछि नेपाल गोर्खा सैनिक भर्नामा रोक लगाएको छ । भारतले सुरु गरेको अग्निपथ योजनामा नेपालको चित्त बुझेको छैन । अग्निपथ योजनालाई संशोधन नगरेसम्म नेपालले त्यसमा भाग नलिने भन्दै आएको छ ।भारत अग्निपथ योजनामा संशोधन गर्ने भनिसकेको छ तर के के संशोधन गर्ने भन्ने टुङ्गो लगाएको छैन । प्रधान सेनापति सिग्देलको भारत भ्रमणको क्रममा त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।