दुर्गा प्रसाईंको दाबी – ‘म भागेको होइन, मन्दिरमा सुरक्षित छु’

काठमाडौं, चैत १७ – तीनकुनेमा आयोजित राजावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले फरार रहेका छन्। प्रहरीले उनलाई पक्राउ गर्न व्यापक खोजी गरिरहेको छ।

यसैबीच, प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू भागेको नभई ज्यान जोगाउन काठमाडौंकै एक मन्दिरमा सुरक्षित बसेको बताएका छन्। उनले भने, “म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन। म भागेको होइन। मलाई भेट्नेबित्तिकै गोली हान्ने आदेश भएकाले सुरक्षित बस्नुपरेको हो। म भाग्न जन्मिएको होइन।”
प्रसाईंले चैत १५ गतेको आन्दोलन शान्तिपूर्ण बनाउन खोज्दा आफूलाई मार्ने योजना बनाइएको दाबी गरे। “लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित र विदेश जाने पीडितहरूको आवाज उठाएपछि हाम्रो आन्दोलन शक्तिशाली बन्न थाल्यो। त्यसैले सरकार डरायो। केही व्यक्तिहरू सिभिल ड्रेसमा आएर घटना सिर्जना गरियो,” उनले भने।
उनका अनुसार, आन्दोलन स्थलमा पुग्नुअघि नै स्टेजतर्फ गोली र टियर ग्यास प्रहार गरिएको थियो। “मेरो गाडीमै टियर ग्यास हानियो। या त मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्ने थियो, या मार्ने षड्यन्त्र थियो। त्यसैले म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा पुगेको हुँ,” प्रसाईंले भने।
उनले आफूलाई लक्षित गर्दै छतमा स्नाइपरहरू राखिएको दाबी पनि गरे। “तीनकुने पुग्दा मेरो कानको छेउबाट गोलीहरू गएका थिए। त्यसपछि कसको रगत उम्लिंदैन? मैले पुलिसलाई कुनै चोट पुर्याएको छैन, केवल आफ्नो सुरक्षाका लागि घेरा तोडेको हुँ,” उनले स्पष्ट पारे।
प्रसाईंले आफूले कहिल्यै घर जलाउन नआदेश दिएको बताउँदै भने, “म त संसद् भवन कब्जा गरौँ भनेको थिएँ, तोडफोड नगर भन्ने भनेको थिएँ।” उनले घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो आन्दोलन न्यायसंगत रहेको जिकिर गरे।