ब्रेकिङ न्यूज

संघीय सांसद दीपक बोहराको निधन

काठमाडौं — राप्रपा सांसद तथा पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित बोहराको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बोहराको निधनले पार्टीले एक समन्वयकारी संस्थापक नेता गुमाएको छ भने रुपन्देहीले एक विकासप्रेमी लोकप्रिय जनप्रतिनिधि र देशले एक राष्ट्रवादी व्यक्तित्वलाई गुमाएको छ।

२०७७ साल जेठ महिनामा कोरोना भाइरसबाट संक्रमित भएपछि बोहराको स्वास्थ्यमा जटिलता देखिएको थियो। पोस्ट-कोभिड लक्षणहरूका कारण स्वरमा समस्या देखिएपछि उनी चुनावी प्रचारप्रसारका क्रममा समेत बोल्न नसक्ने अवस्थामा पुगेका थिए। थप उपचारका लागि उनी दिल्ली र न्यूयोर्कसम्म गएका थिए, जहाँ उनले स्पीच थेरापी लिएका थिए। पछिल्लो समय भने उनी घरमै आराम गर्दै आएका थिए।

राजनीतिक यात्रा

बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्दै सांसद पद हासिल गरेका थिए। उनको उम्मेदवारीलाई एमाले र जसपाको पनि समर्थन थियो। चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका बोहरा २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०४२ सालमा पुनः राष्ट्रिय पञ्चायत सदस्य बनेका उनी २०७० सालमा संविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए।

मन्त्री पदमा जिम्मेवारी

दीपक बोहरा विभिन्न समयमा सरकारका महत्त्वपूर्ण जिम्मेवारीमा रहे।

  • २०३८ साल – पर्यटन राज्यमन्त्री
  • २०४० साल – पर्यटन राज्यमन्त्री
  • २०४३ साल – निर्माण तथा यातायात राज्यमन्त्री
  • २०४४ साल – निर्माण तथा यातायातमन्त्री
  • २०६७ साल – वन तथा भू-संरक्षण मन्त्री
  • २०७२ साल – श्रम तथा रोजगार मन्त्री
  • २०७३ साल – आपूर्ति मन्त्री
  • २०७४ साल – स्वास्थ्य मन्त्री

उनको निधनले नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button