राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत : सन् २०३० भित्र दिगो विकास लक्ष्य प्राप्त गर्ने सरकारको लक्ष्य
काठमाडौं ।
सरकारले सन् २०३० भित्र संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्ने स्पष्ट योजना अघि सारेको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिनुभयो।
उहाँले १६औँ योजना अन्तर्गत सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा तथा हरित औद्योगिकीकरणलाई रोजगारीमुखी आर्थिक वृद्धिको नयाँ आधार बनाइने बताउनुभयो। यस्ता क्षेत्रहरूलाई संरचनात्मक रूपान्तरणको केन्द्रमा राखेर रणनीतिक रूपमा अघि बढाइने योजना रहेको छ।
साथै, राष्ट्रपति पौडेलले वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गरिने जानकारी दिनुभयो। सरकारले सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित राष्ट्रको श्रेणीबाट विकासशील राष्ट्रमा रूपान्तरण गर्ने उद्देश्यका साथ रणनीति अघि बढाइरहेको छ।
उहाँले व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्तीय प्रणाली, वस्तु विनिमय (Barter System) सम्बन्धी कानूनी संरचना विकास गरिने बताउनुभयो।
सार्वजनिक पूर्वाधारमा निजी लगानी आकर्षित गर्न नवीन वित्तीय उपकरणहरूको प्रयोग गरिने र धितोपत्र बोर्ड तथा स्टक एक्सचेन्जको पुनःसंरचना गरी पुँजी बजारको पारदर्शिता र क्षमता अभिवृद्धि गरिने पनि उहाँको भनाइ थियो।
