ब्रेकिङ न्यूूज

हिरामन्डी’को चर्चापछि मनीषा भन्छिन् : हामीले सक्दो राम्रो गर्ने हो ।

हिरामन्डी : द डायमन्ड बजार’ को चारैतर्फ चर्चा चुलिरहेका बेला त्यसमा प्रमुख भूमिका निभाएकी मनीषा कोइराला खुसी छिन्, अहिलेसम्म प्राप्त प्रतिक्रियालाई लिएर । नेटफ्लिक्समा रिलिज हुनुअगाडि उनी त्यसको प्रमोसनमा खुबै व्यस्त रहिन् । मनीषा आइतबार राति काठमाडौं आइपुगिन्, सायद केही थाकेकी हुनुपर्छ ।
तर उनी असाध्यै उत्साहित पनि थिइन् । यता पनि प्रमोसनमै अलिकति भए पछि व्यस्त हुनेछिन् । भनिन्, ‘सबैले धेरै माया देखाउनु भएको छ । यसका लागि म आभारी छु ।’ सञ्जयलीला भन्सालीनिर्देशित दुई सय करोड भारु बजेट भएको वेब सिरिज ओटीटीमा अहिले ट्रेन्डिङमा छ । न्युयोर्क टाइम्सले यसको मीठो रिभ्यु गरेपछि चर्चा अझै बढेको छ ।

तर भारतमै भने यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले राम्रो मानेका छन् भने केहीले यसमा खोट देखेका छन् । यसबारे स्वयं मनीषा के भन्छिन् त ? उनी भन्छिन्, ‘सबैको आ–आफ्नो मत हुन सक्छ । हामी अभिनेताको काम सक्दो राम्रो गर्ने हो । हामीले हिरामन्डीमा धेरै मिहिनेत गरेका छौं । सबैले सक्दो राम्रो गर्ने प्रयास गरेका छन् ।’
हिरामन्डीमा मनीषाले ‘मल्लिका जान’ को भूमिका निभाएकी छिन् । जम्मा आठ एपिसोडको यस सिरिज भारत विभाजन हुनुअगाडिको कथा हो र यो लाहोरको हिरामन्डीमा आधारित छ । पछिल्लो समय ‘रेड लाइट एरिया’ मा परिणत यस हिरामन्डीले भारतको स्वतन्त्रताको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

मनीषाले निर्देशक भन्सालीसँग फेरि काम गर्न पाएकोमा खुसी पनि व्यक्त गरिन् । उनले भनिन्, ‘भन्साली निकै राम्रा निर्देशक हुन् । उनीसँग २८ वर्षपछि फेरि काम गरेको हुँ । मैले उनलाई फेरि अर्को कामका लागि २८ वर्ष कुर्न नपरोस् भनेकी छु ।’ सन् १९९६ मा रिलिज भएको ‘खामोसी : द म्युजिकल’ मा उनीहरू सँगै काम गरेका थिए ।
लामो बिरामीपछि मैले यति महत्त्वपूर्ण सिरिजमा काम गर्न पाएकी छु । त्यसैले पनि म खुसी र उत्साहित दुवै भएको हो । हामीहरू सबै महत्त्वपूर्ण भूमिका गर्न पाउँदा खुसी नै हुन्छौँ । त्यसैले पनि मैले अहिले अभिनेत्रीको दोस्रो जीवन व्यतित गरेको भनिरहेको छुं ।’ मनीषाले भविष्यमा राम्रो भूमिका पाए आफू अझै त्यसका लागि तयार हुने पनि बताइन् ।

सन् २०२१ को वरिपरि नै हिरामन्डीको प्रि–प्रोडक्सनको काम सुरु भइसकेको थियो । सुटिङ पनि लामै समय चलेको थियो । यसबीच मनीषासँगै नेपाली निर्देशक सम्झना उप्रेती रौनियार पनि थिइन् । यसपल्ट उनको भूमिका खालि ‘अब्जर्भर’ को भूमिकामै सीमित थियो । तर जति देख्न पाइन र अनुभव बटुल्न पाइन, त्यसमा उनी आफै पनि दंग छिन्  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button