प्रवाससमाज

बढ्दो बेरोजगारीले थपिँदै चुनौती, सक्रिय जनशक्ति पलायन

काम गर्ने इच्छा, क्षमता तथा योग्यता भएर पनि कुनै आयमूलक पेसा व्यवसायमा संलग्न हुन नपाउनु बेरोजगारी हो । सक्रिय जनशक्ति रोजगारविहीन हुनु मुलुकको विकास तथा प्रगतिमा बाधक मात्र होइन, राष्ट्रिय अर्थतन्त्रका लागि टाउको दुखाइको विषय हो । बेरोजगारी, न्यून आय, न्यून बचत र गरिबी बीचको दुश्चक्र निरन्तर चलिरहन्छ । उच्च बेरोजगारी दर तथा सक्रिय जनशक्ति पलायनले मुलुकका विकास लक्ष्यहरू प्राप्तिमा चुनौतीसमेत खडा गरिरहेका छन् ।

बजारमा मागको तुलनामा श्रमशक्तिको आपूर्ति बढी हुन गई बेरोजगारीको अवस्था सिर्जना हुन पुग्दछ। बेरोजगारीका कारण मुलुकमा विद्यमान श्रमशक्ति निष्क्रिय हुन पुग्ने हुँदा एकातिर मुलुकको आर्थिक प्रगतिले गति लिन सक्दैन भने अर्कोतिर पारिवारिक समस्या हुन जान्छ।

यस्ता विकृति बढ्न गई सामाजिक अपराधहरुमा बढोत्तरी हुन पुग्दछ ।नेपालमा बेरोजगार एउटा प्रमुख समस्याको रुपमा रहेको छ। अझ शिक्षित र दक्ष जनशक्तिलाई पनि मुलुकभित्र रोजगारी नपाउने अवस्थाको सिर्जना भएको देखिन्छ। बेरोजगारी प्रतिभा पलायन हुनुको प्रमुख कारण पनि हो।

श्रम र रोजगारी जीवन रक्षा व्यक्तित्व विकास स्वाभिमान र समृद्धिको आधारशिला हो मानव सभ्यताको विकासको सुरुवातदेखि नै श्रम र रोजगारीले समाजमा महत्त्व पाउँदै आएका छन्।मानवचित जीवनयापनका लागि आयमूलक रोजगारीका अवसरहरू सिर्जना हुनु आवश्यक हुन्छ। श्रम पेशा वा रोजगारीबाट नै समाजमा गरिबी न्यूनीकरण हुन्छ। नेपालमा अहिले पर्याप्त रोजगारीका अवसरहरु सिर्जना हुन सकेका छैनन्। बेरोजगारी मुलुकको आर्थिक सामाजिक र राजनीतिक समस्याको कारक भएको छ।

नेपालमा प्रतिवर्ष करिब ५ लाख व्यक्ति श्रम बजारमा थपिने गर्दछन् तर श्रम बजारमा आउने अधिकांश व्यक्तिलाई रोजगारी उपलब्धता गराउन सकिएको अवस्था छैन। नेपालले गरिबी र आर्थिक असमानता घटाउनु पर्याप्त मात्रामा रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने हुन्छ। अनि मात्र मुलुकको समृद्धि तर्फको यात्रा सफल हुन जान्छ।

नेपालमा बेरोजगारी बढ्नुका प्रमुख कारण भनेको स्वरोजगारीका अवसरहरूको खोजी यथेष्ट रूपमा हुन नसक्नु, मुलुकको आर्थिक उन्नति भन्दा पनि राजनीतिक द्वन्द चलखेल र सत्ता समीकरणतर्फ राजनीतिक नेतृत्व बढी केन्द्रित हुनु हो । त्यस्तै नेपालमा कुनै पनि क्षेत्रमा लगानी गर्नका लागि लगानी योग्य वातावरण नै छैन ।

ठूलाठूला उद्योग खोल्ने व्यवस्था मिलाउने, निर्यातजन्य उद्योग खोली आयात प्रतिस्थापन गर्ने र रोजगारीका अवस्थामा सुधार ल्याउने, मझौला र साना उद्योगहरूमा स्थानीय स्तरमा नै स्रोतसाधन जुटाई सञ्चालन गर्ने रणनीति अवलम्बन गर्नुपर्छ । कृषि सामग्री, मल, बीउ, बिजनको आयात र भण्डारणमा सहजीकरण गरिनुपर्छ । पर्यटन, बैंक, बिमा, सार्वजनिक सवारीसाधन, व्यापार, होटल रेस्टुरेन्ट, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सरकारी सेवा प्रवाह आदिको संस्थागत विकास गर्नुपर्छ । ठूलाठूला लगानीमा जोड दिनुपर्छ ।

मजदुर कल्याणकोषको सदुपयोग जरुरी छ । अधिकतम फाइदाजनक श्रम गन्तव्य मुलुकहरूको अन्वेषण गर्ने, आर्थिक कूटनीति र श्रम सहचारीको उपयोग प्रभावकारी बनाउनुपर्छ, श्रमिक पठाउने र स्वीकार गर्नेबीच सबल पद्धतिको विकास गर्नुपर्छ ।

विश्व बैंकका अनुसार नेपालको बेरोजगारी स्थिति दक्षिण एसियामै सबैभन्दा उच्च छ । आर्थिक वृद्धि तथा रोजगारी सृजनाका लागि सरकारले लिएका आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम तथा क्षेत्रगत नीति तथा योजनाहरूका लक्ष्य सफल हुन सकिरहेका छैनन् । ९६ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने सक्रिय जनशक्तिलाई राष्ट्रले महत्व दिन सकेको छैन ।

मुलुकमा बेरोजगारी समस्या व्याप्त हुनुले मुलुक आर्थिक विकासमा पछाडी परेको भन्ने कुराको संकेत गर्दछ। बेरोजगारी समस्यालाई क्रमश कम गर्दै लैजान सरकारले स्पष्ट नीति निर्माण गरी निजी र सहकारी क्षेत्रसँगको सहकार्यमा मुलुकमा लगानीको वातावरण तयार गर्नुका साथै रोजगारीका सम्भावित अवसरहरूको सिर्जना गर्नुपर्दछ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ढाँचा तयार गर्ने, अनुगमन कार्य प्रभावकारी बनाउनु विप्रेषण पठाउन औपचारिक माध्यमलाई अवलम्बन गराउनुपर्छ । रोजगारीका अवसर क्रमशः देशभित्रै सिर्जनागरी वैदेशिक रोजगारीको प्रवाह कम गर्दै लैजानुपर्छ । यसो भएमा विस्तारै वैदेशिक रोजगारीलाई देशभित्रै प्राप्त हुने रोजगारीले विस्थापित गरी देशको अर्थतन्त्र सुदृढ हुने दिशामा अघि बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button